साउदीमा ७० नेपाली युवा अलपत्र

न्युजलय २१ पुस २०७८, बुधबार ०९:४४ मा प्रकाशित

काठमाण्डौ । वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका ७० नेपाली युवा साउदीको खोबरमा अलपत्र परेका छन् । 

काठमाडौंस्थित सिनेट इन्टरनेशनल म्यानपावरमार्फत विगत ३० महिनाअघि त्यहाँ पुगेका उनीहरु अलपत्र परेका हुन् ।

साउदीको जुबेलमा रहेको साश इन्टरनेशनल कम्पनीमा कार्यरत उनीहरुलाई कम्पनीले तलब नदिँदा आफूहरु समस्यामा परेको अलपत्र परेकामध्ये झापाका लक्ष्मी पौडेलले जानकारी दिए ।

विगत ९ महिनादेखि तलब नपाएको उनीहरुले बताए । उनीहरुले नेपाल सरकारले नेपाल लैजानका लागि पहल गर्न पनि अनुरोध गरेका छन् ।

अहिले आफूहरुसँग फोन गर्ने एक रुपैयाँ पैसा पनि नभएको र कम्पनीको अवस्था झन् बिग्रिएको भन्दै उनीहरुले आफूहरुलाई सकुशल उद्धार गर्न वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय, नेपाली दूतावासलगायत सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।