सरकारको विभेदकारी नीति विरुद्ध प्रदेश १ का व्यवसायीले सडक आन्दोलन गर्ने

न्युजलय २५ जेठ २०७९, बुधबार १०:४० मा प्रकाशित

 विराटनगर । विराटनगरमा उद्योगी व्यवसायीले सरकारको विभेदकारी नीतिको विरुद्ध सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

बुधवार(आज) विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी विराटनगरका तीन ठूला व्यवसायी संगठनहरूले सरकारले बाध्य भएर सडक आन्दोलनमा जानु पर्ने अवस्था आएको बताएका हुन् ।

उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र उद्योग परिसंघले स्टील्स तथा जिआई वायर, वनस्पति घ्यू तेल उद्योग र स्यानिटरी प्याडमा आन्तरिक उद्योगलाई धराशायी पार्ने नीति सरकारले लिएको बताए ।

सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटले एउटा उद्योगलाई मात्र प्रोत्साहनको नीति ल्याएर सिस्टम मै भ्रष्टाचार भएको हुनसक्ने आशंका व्यापारीको छ ।

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७९र०८० को बजेटबाट स्टिल्स तथा वायरको भन्सार महसुलमा ५ बाट १० प्रतिशत तथा अन्तःशुल्कमा २ हजार ५ सयबाट ४ हजार ५ सय प्रति मेट्रिक टन कायम गरेको विषयमा व्यवसायी असन्तुष्ट भएका हुन् ।

सरकारको यो नीतिले वायर स्टिल उत्पादन गर्ने उद्योगहरू आयातित वस्तुहरूसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सिर्जना भएको उद्योगी पवनकुमार सारडाले बताए ।

सरकारले ल्याएको नीतिले अहिले सञ्चालनमा रहेका ४० उद्योगहरू बन्द हुने अवस्थामा पुग्ने उद्योगीको भनाई छ ।

सरकारले लिएको नीतिले वनस्पति घ्यू तेल उद्योगमा समेत प्रभाव परेर बन्द गर्नु पर्ने अवस्था आएको व्यवसायी संगठनहरूले बताएका छन् । 

व्यवसायीले स्यानिटरी प्याडमा पनि सरकारले गलत नीति लिएको बताएका छन् । मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले तयारी बस्तु सेनेटरी प्याडको आयातमा भन्सार महसुल १५ प्रतिशतमा ९० प्रतिशत घटाई १ दशमलव ५ प्रतिशत कायम गरिएको बताए ।

यस्तो व्यवस्थाले स्वदेशी उत्पादन गर्नुभन्दा आयात गरी विक्री वितरण गर्दा सस्तो पर्न जाने उनले बताए । हाल सञ्चालनमा रहेका ३५ देखि ४० उद्योगमा ६ अर्ब भन्दा बढी लगानी भएकोले ती उद्योगहरूको भविष्य नै अन्यौलता रहेको व्यवसायीको भनाई छ ।

उद्योग परिसंघका अध्यक्ष भीम घिमिरेले समस्याको बारेमा मजदुर सङ्गठनहरूसँग पनि छलफल भएकोले संयुक्त आन्दोलन गरिने बताए । 

उद्योगी व्यवसायीले आजै मोरङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउनुका साथै प्रदेश १ उद्योग, श्रम तथा रोजगार मन्त्रालयलाई पनि उनीहरूले आफ्नो माग राखेका छन् । भोलि बिहान १० देखि ११ बजेसम्म राजमार्ग अवरुद्ध गर्ने समेत चेतावनी दिएका छन् ।