कर वृद्धि गरेपछि इटहरीका मेयर र उप मेयरलाई नागरिकको अनुरोध ‘सरकार हाम्रो घर जग्गा किनिदेऊ’

न्युजलय १४ साउन २०८०, आइतबार ०३:१६ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिकाले कर वृद्धि गरेपछि इटहरीका नागरिकले विरोध गर्न थालेका छन् । 

इटहरी उप महानगरपालिको कर वृद्धि गरेको विरोधमा सामाजिक सञ्जालमा तीव्र विरोध भइरहँदा करको दर परिमार्जन गर्न दबाब मूलक कार्यक्रम सुरु भएको छ । 

विरोधमा आज इटहरीका मेयर हेमकर्ण पौडेल र उप मेयर संङ्गिता चौधरीलाई म्यासेज पठाउने कार्यक्रम तय भएको छ ।

सर्वसाधारणले मेयर र उप मेयरलाई म्यासेज पठाएकोमा लेखिएको छ ‘की हाम्रो घर जग्गा किनी देऊ की त हामीले घर जग्गा बेचेर कर तिर्नु पर्ने हो ?’ लु न इटहरी सरकार छिटो भनिदेऊ । 

इटहरी उपमहानगरपालिकाले करको दर बढाएपछि सामाजिक सञ्जालमा उप महानगरको यस कदमको तीव्र विरोध भइरहेको छ । अघिल्लो वर्ष को भन्दा झण्डै चार गुणा सम्म करको दरमा वृद्धि गरेपछि सर्वसाधारण आन्दोलित हुनु परेको बताइएको छ । 

इटहरी उपमहानगरले श्रावण १ गतेदेखि लागू हुने गरी  एकीकृत  सम्पत्ति कर, घर बाटो सिफारिस, दस्तुर ,चार किल्ला  सिफारिस  दस्तुर ,लेनदेन प्रमाणीकरण दस्तुर  लगायतका शीर्षकमा  कर वृद्धि गरेको छ।