बेलायतमा एकैदिनमा ४५ प्रतिशतले बढ्यो ओमिक्रोन संक्रमण

न्युजलय २४ मङ्सिर २०७८, शुक्रबार ०७:४१ मा प्रकाशित

काठमाडौं । बेलायतमा कोरोना संक्रमणको नयाँ रुप ‘ओमिक्रोन’ संक्रमितको संख्या बढ्ने क्रम जारी छ । पछिल्लो २४ घन्टामा अघिल्लो दिनको तुलनामा ४५ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ । बिहीबार एकैदिन २४९ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । यससँगै बेलायतमा ओमिक्रोन संक्रमितको संख्या ८१७ पुगेको छ । 


संक्रमण हुनेमा खोप लगाइसकेका व्यक्तिहरुसमेत रहेका छन् । तर, यस अघिकोको तुलनामा उक्त भाइरसका लक्षणहरु सामान्य रहेको विज्ञहरुले जनाएका छन् । यद्धपि यसबाट सावधान रहनको लागि उनीहरुले आग्रह गरेका छन् ।


नयाँ भाइरसको प्रभाव बढेसंगै यसको प्रभाव कम गर्न सरकारले कडा प्रतिबन्ध लागू गर्ने भएको छ । शुक्रबारबाट थिएटर लगायतका स्थानमा फेस मास्कको अनिवार्य प्रयोग, निश्चित स्थानमा कोभिड पासको व्यवस्था तथा सम्भव भए घरबाटै काम गर्न सरकारले आग्रह गरेको छ ।


यसैगरी बेलायतमा दैनिक संक्रमण दर ५० हजार भन्दा माथि रहेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सार्वजनिक गरेको बिहीबारको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ५० हजार ८६७  संक्रमित फेला परेका छन् । बेलायतमा कोरोना संक्रमितको कुल संख्या एक करोड ६६ लाख ९८१ पुगेको छ ।  


यसैगरी कोरोनाका कारण बितेको २४ घन्टामा १४८ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । यससँगै बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ४६ हजार १३५ पुगेको छ ।


तेस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा ८१३ जना संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या ७ हजार ३४७ रहेको छ । यस्तै ८९० संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ । संक्रमण दर उच्च भएपनि अस्पताल भर्ना हुनेको संख्यामा भने वृद्धि भएको छैन ।