नेपाल आइपुग्यो थप ७ लाख डोज कोभिसिल्ड खोप

न्युजलय १४ मङ्सिर २०७८, मङ्गलबार ०७:३३ मा प्रकाशित

 काठमाण्डौ । थप ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप काठमाडौं आइपुगेको छ । 

कोभ्याक्समार्फत प्राप्त हुने ६० लाख डोजमध्ये ७ लाख २५ हजार खोप काठमाडौं आइपुगेको हो । यहि हप्ता दुई चरणमा थप खोप आउन लागेको स्वास्थ्य सेवा विभागले जनाएको छ । 


विभागका व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले अबको दुई चरणमा गरेर बाँकी खोप नेपाल ल्याइने बताए । नेपाल ल्याइएको उक्त खोप छिट्टै देशभर लगाउन थालिने उनको भनाइ छ । 


हालसम्म नेपालमा २ करोड ५५ लाख डोज खोप आइसकेको छ । जसमध्ये १ करोड ८१ लाख पाँच हजार ९५५ डोज खोप लगाइसकिएको छ । जसमध्ये ८३ लाख ८२ हजार ९९४ पूर्ण मात्रा र ९७ लाख २२ हजार ९६१ पहिलो मात्रा खोप लगाइसकेका छन् । 


नेपालमा गत माघदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु गरिएको थियो । भारतले १० लाख डोज कोभिशिल्ड खोप अनुदानमा उपलब्ध गराएसँगै खोप अभियान सुरु भएको थियो ।