इटहरीका ज्येष्ठ नागरिकको भवन उद्घाटन तथा उखान टुक्का सङ्ग्रह पुस्तक लोकार्पण

न्युजलय २४ भदौ २०८०, आइतबार ०८:२८ मा प्रकाशित

इटहरी । जेष्ठ नागरिक समाज नेपालको इटहरी शाखाले आफ्नो नयाँ भवन पाएको छ । ज्येष्ठ नागरिकहरुको सम्मानमा उपमहानगरपालिकाले नयाँ भवन बनाइदिएको हो । 


इटहरी उपमहानगर प्रमुख हेमकर्ण पौडेलले नगरपालिका परिसरमा बनेको सो भवन समाजलाई हस्तान्तरण गरेका छन् । मेचीकाली पोखरीको पूर्वी डिलमा ज्येष्ठ नागरिक चौतारीका नामबाट भेटघाट थलोका रूपमा प्रयोग हुँदै आएको स्थानमा नगरपालिकाले १६ लाख रुपियाँको लागतमा भवन बनाइदिएको हो ।


भवन उद्घाटन समारोहमा ज्येष्ठ नागरिक कृष्णप्रसाद लुइँटेलद्वारा सङ्कलित नेपाली उखान–टुक्का सङ्ग्रह नामक पुस्तक लोकार्पण गरिएको थियो । नगरप्रमुख पौडेल, ६ नम्बरका वडाध्यक्ष दिवस पोखरेल, इटहरीका अग्रज शैक्षिक व्यक्तित्वहरू लेखनाथ घिमिरे, बद्रीविशाल पोखरेल, राजयोग सेवा केन्द्रकी शारदा दिदीलगायतले पुस्तक लोकार्पण गरेका थिए ।