राप्रपा नेपालले चुनाव चिन्ह तीर माग्यो

न्युजलय ३ चैत २०७८, बिहिबार ०१:१९ मा प्रकाशित

काठमाडौं । राप्रपा नेपालले आफ्नो चुनाव चिन्ह तीर प्रस्ताव गरेको छ। उसले उक्त चिन्ह स्वीकृतिका लागि निर्वाचन आयोगमा पठाएको छ।


तीर चुनाव चिन्हबारे निर्वाचन आयोगमा छलफल चलिरहेको राप्रपा नेपालका प्रवक्ता राजाराम बर्तौलाले बताए।

  

राप्रपा नेपाल स्थानीय निकायको चुनावको तयारीमा छ। राप्रपा नेपाल आयोगले अद्यावधिक गरेको दल दर्तामा १७ नम्बरमा छ।


राप्रपा त्याग्दै कमल थापाले फागुन ७ गते राप्रपा नेपाल दलको घोषणा गरेका थिए। थापा पहिले पनि राप्रपा नेपालको अध्यक्ष थिए।  


थापा नेतृत्वको राप्रपा नेपालले पहिले चुनाव चिन्ह गाई राखेको थियो। तर, २०७४ सालमा राप्रपा नेपालसहितका दल एक भएपछि पञ्चहरूको पार्टी राप्रपा बन्दा चुनाव चिन्ह हलो राखिएको थियो।


निर्वाचन आयोगले दलहरूलाई चुनाव चिन्ह राष्ट्रिय जनावर, राष्ट्रिय रंग, राष्ट्रिय फूल राख्न दिएको छैन। राप्रपालाई आफ्नो झन्डाबाट समेत गाई हटाउन आयोगले पत्राचार गरेको छ।