काठमाण्डौ । सरकारले गाँजामाथिको प्रतिबन्ध फुकाउने योजना बनाएको छ ।
गृहमन्त्रालयमा सोमवार(आज) आयोजित कार्यक्रममा प्रवक्ता फणिन्द्रमाणि पोखरेलले गाँजामाथिको प्रतिबन्ध औषधीय प्रयोजनका लागि फुकाउने योजना रहेको बताएका हुन् ।
गृह सुधार योजनाअन्तर्गत गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्ने विषय पनि समेटिएको पोखरेलले बताए ।
औषधि व्यवस्था ऐन २०३३ मा औषधीय प्रयोजनका लागि गाँजा प्रयोग गर्न पाइने उल्लेख छ ।
औषधि व्यवस्था विभाग र वनस्पति विभागले गाँजा प्रयोग गर्नका लागि अनुमति मागेका छन् ।
गाँजाको प्रतिबन्ध फुकाउनु पर्ने भन्दै नेकपा एमालेका सांसद एवं पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले प्रतिनिधि सभामा गैरसरकारी विधेयक दर्ता गरेका छन् ।
आयुर्वेदिक उपचारमा गाँजाको प्रयोग हुने भन्दै अभियन्ताहरूले गाँजामाथिको प्रतिबन्ध फुकाउन माग गर्दै आएका छन् ।