त्रिविका विद्यार्थीलाई उपचारमा ९० प्रतिशत छुट

न्युजलय १७ मङ्सिर २०७८, शुक्रबार ०१:१६ मा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र यस अन्तर्गतका शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीलाई स्वास्थ्य उपचार खर्चमा ९० प्रतिशत छुट दिइएको छ । स्वास्थ्य उपचार शुल्क भनेर पाँच सय रुपैयाँ हरेक सेमेस्टर वा वर्षमा कलेजलाई तिर्ने शुल्कबाट नै विद्यार्थीले उक्त उपचार खर्चमा छुट पाउँछन् ।


देशभरका ६० वटा अस्पतालबाट विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय अन्तर्गत ‘विद्यार्थी स्वास्थ्य उपचार कोष’ बाट उक्त खर्च दिइदै आएको निर्देशनालयका निर्देशक पशुपति अधिकारी बताउँछन् । ‘विद्यार्थी बिरामी भएपछि स्वास्थ्य उपचार कोषबाट उपचारका लागि एक लाख रुपैयाँसम्मको खर्च पाउँछन्,’ अधिकारीले भने, ‘विद्यार्थीको उपचारमा लागेको खर्चको ९० प्रतिशत यही कोषबाट अस्पताललाई भुक्तानी हुने र बाँकी १० प्रतिशत स्वंयमले बेर्होनुपर्ने छ ।’


‘विद्यार्थी स्वास्थ्य उपचार कोष’ २०७२ मा स्थापना भए पनि यसबारे विद्यार्थी जानकार नभएर र कतिपय कलेजले लागू नगरेकाले सेवाबाट बन्चित रहेको अधिकारी बताउँछन् । 


विद्यार्थीले स्वास्थ्य उपचार सुविधा प्राप्त गर्नका लागि त्रिवि अन्र्तगत शिक्षण संस्थाले विद्यार्थीबाट शुल्क उठाएर कोषमा जम्मा गरेको र क्याम्पसले अस्पतालबाट सम्झौता गर्नुपर्ने हुन्छ । त्रिवि अन्र्तगत रहेका ६५ वटा क्याम्पसमध्ये १६ वटा क्याम्पसले अझै अस्पतालसँग सम्झौता नगरेको अधिकारी बताउँछन् । जसमध्ये सात वटा काठमाडौँ उपत्यकाका रहेका छन् ।