त्रिभुवन विमानस्थलबाट ९३६ ग्राम सुनसहित एक बंगलादेशी पक्राउ

न्युजलय १० फाल्गुण २०७८, मङ्गलबार ०१:५० मा प्रकाशित

काठमाडौं । करिब एक किलो सुनसहित बंगलादेशी नागरिकलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।


सोमबार विमानस्थलमा चेकजाँचका क्रममा उनलाई पक्राउ गरेको हो। दुबईबाट नेपाल आएका ती नागरिकको अन्डरवेयरमा सुन भेटिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालय प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए।


उनको साथबाट ९३६ ग्राम सुन बरामद भएपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको ढकालले बताए। हिमालय एयरलाइन्सको उडान नम्बर एच ९५६६ बाट मोहमद तोफिक उल्लाह काठमाडौं ओर्लिएका थिए।


सोधपुछका क्रममा उनले भारतीय नागरिक पारसनाथ शाहको नाम खुलाएपछि उनलाई पनि पक्राउ गरेर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौरचमा बुझाइएको प्रहरीले जनाएको छ।