काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले करिब ८ करोड मतपत्र छाप्ने भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सो जानकारी दिएका हुन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनको मिति तय नभए पनि आयोगले आन्तरिक तयारी थालिसकेको बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले अब बस्ने मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तोक्ने बताए ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनको तुलनामा गत वैशाख ३० गते शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन मितव्ययी भएको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।
आगामी निर्वाचन पनि मितव्ययीको सिद्धान्तलाई केन्द्रविन्दुमा राखेर काम गर्ने प्रतिबद्धता पनि थपलियाले व्यक्त गरे । स्थानीय तहको निर्वाचनको तुलनामा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको खर्च बढी हुने पनि उनले जानकारी दिए ।