डा. केसीलाई लिन गएको सेनाको स्काइ ट्रक रित्तै फर्कियो

न्युजलय ५ असोज २०७९, बुधबार १२:१८ मा प्रकाशित

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै अनशन बसेका डा. गोविन्द केसीलाई काठमाडौं लैजान गएको नेपाली सेनाको स्काइ ट्रक धनगढी विमानस्थल पुगेर रित्तै फर्किएको छ ।


९ दिनदेखि अनशनमा रहेका डा.केसीले काठमाडौं नजाने अडान राखेपछि विमान फर्किएको हो । २ घण्टा भन्दा पनि लामो समयदेखि सेनाको स्काइ ट्रक धनगढी विमानस्थलमै रोकिएको थियो ।


जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले डा.केसीलाई सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएको भए पनि उनी जान नमानेको बताए । जान नमानेपछि अहिले सेनाको स्काइ ट्रक फर्किएको समेत उनले बताए ।

 

स्वास्थ्यमा जटिलता देखिएपछि डा. केसीलाई सेती प्रादेशिक अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको थियो । अस्पतालले डा. केसीको शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने बताएको छ । त्यस्तै पेटमा कडा खालको अल्सर भएको आशंका गरिएको पनि अस्पतालले जनाएको छ ।

 

डा. केसीको मांशपेसी सुक्दै गएको र अल्सर भई रक्तस्रावको शंका भएको भन्दै अस्पतालका प्रवक्ता डा. शेरबहादुर कमरले विज्ञप्ति निकालेर थप जटिलता हुन सक्ने भएकाले बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा लैजान सम्बन्धित निकायलाई आग्रह गरिसकेको बताएका छन् ।


अस्पतालले विज्ञप्ति निकाल्दै डा. केसीमा टाउको दुख्ने, रिङ्गटा लाग्ने, थकान लाग्ने, सास फेर्न गाह्रो हुने, शरीरका मांसपेसी दुख्नेलगायतका समस्या देखिएको जनाएको छ ।  उनको अवस्था निकै नाजुक भएपछि सेती प्रादेशिक अस्पतालले केसीलाई उपचारका लागि अन्यत्र लैजान चार दिनअघि नै आग्रह गरेको थियो ।