काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुनको थप स्वास्थ्योपचारका लागि थाइल्याण्डबाट चीन लगिएको छ ।
माओवादीका केन्द्रीय सदस्य एवं नेता पुनकी स्वकीय सचिव दुर्गा चापागाईंका अनुसार पुनलाई थर्ड पिपल्स हस्पिटल अफ सेनजेन लगिएको हो ।
विगत डेढ महिनादेखि उनको थाइल्याण्डस्थित समितिभेज अस्पतालमा उपचार भइरहेको थियो । जटिल प्रकारको जण्डिसबाट पीडित नेता पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि चिकित्सको सुझावका आधारमा चीनको सेनजेन पठाइएको हो ।
नेता पुनसँगै उनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला पनि बैंककबाट चीनको सेनजेन गएका छन् ।
जण्डिसले पिरोलेपछि नेता पुन गत १३ असोजमा बैंककको समितिभेज अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा सुधार नभएपछि चिकित्सकको सल्लाहमा चीनको सेनजेन लगिएको नेता चापागाईंले बताइन् ।