इटहरी । नेपालमा पठन संस्कृति विकास गर्नको लागि देशव्यापी कार्यक्रम गरिने भएको छ । इटहरीमा प्रबुद्ध व्यक्तिहरुको एउटा भेलाले रिडिङ क्लब, रिडिङ प्रशिक्षक, पुस्तक प्रकाशनसहितका कामहरु गर्ने योजनासमेत बनाएको छ ।
पछिल्लो समय सुचना प्रविधिको बढ्दो प्रयोगसँगै मानिसहरुको अध्ययन गर्ने बानी हराइरहेको निष्कर्ष निकाल्दै पठन संस्कृति विकासका लागि दीर्घकालिन योजना बनाउन लागिएको कार्यक्रमका संयोजक बद्रीप्रसाद दाहालले जानकारी दिए ।
उनले कृषि, शिक्षा, पर्यटन, जडिबुटी, सडक सुरक्षा, जीवनशैली, नेपाली भाषा विकासजस्ता दर्जनौं सवालमा अध्ययन, अनुसन्धान तथा लेखन कमजोर रहेको बताए । ‘त्यसैले लेख्ने, पढ्ने र पढाउने सबै कामहरुलाई एकबद्ध गर्दै “विकास र समृद्धिको लागी पठन संस्कृति” नारा दिएर कार्यक्रम तयार गरिएको छ,’ उनले भने ।
उनकाअनुसार देशभरमा एक हजार वटा रिडिङ क्लब बनाइनेछ । स्कुलमा आधारित रिडिङ क्लव, कलेजमा आधारित रिडिङ क्लव, पव्लिकमा आधारित रिडिङ क्लब र विषयगत र थिम्याटिक रिडिङ क्लव गरी ४ प्रकारका रिडिङ क्लवहरु प्रस्ताव गरिएको छ ।
यस्तै पाँच सय जना रिडिङ प्रशिक्षक, एक हजार जना लेखक तयार गरिने छ । यस्तै १०० करोड रुपैया लागतको प्रकाशन उत्पादन गरिनेछ । त्यसको लागि लगानी जुटाउन प्रत्यक्ष–अप्रत्यक्ष रुपमा भुमिका खेलिने बताए । कार्यक्रमले नेपालमा २० लाख बढी प्रत्यक्ष पाठक उत्पादन गर्ने लक्ष्य लिइएको छ ।
काठमाडौ पछि इटहरीमा छलफल भएको र केही साताभित्रै देशभरका विभिन्न ठाउँका प्रबुद्ध व्यक्तिहरुसँग छलफल गरी कार्यक्रमलाई अघि बढाइने उनले जानकारी दिए ।
कार्यक्रममा सहभागिहरुले पठक संस्कृतिसम्बन्धि आफ्ना अनुभव र विचारहरु राखेका थिए । उनीहरुले पठन संस्कृति विकास गर्नको लागि गाह्रो भएपनि असम्भव नभएको बताउँदै त्यसको लागि स्कुल, अविभावक, शिक्षक, स्थानीय सरकार, पुस्तक लेखक तथा वितरक सबै जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए ।
उनीहरुले विभिन्न विषयका पाठ्य सामाग्री उपलब्ध हुनुपर्ने, सामाग्रीको स्तरीकरणसमेत उपयुक्त हुनुपर्ने, साना सामुदायिक लाइब्रेरी बनाउनुपर्ने, बालबालिकाहरुलाई पढ्नका लागि उत्प्रेरित गर्नुपर्ने, पुस्तकको मूल्य घटाउनुपर्ने, बैंक, होटल, क्याफेहरुमा पुस्तक सेल्फ राख्न प्रोत्साहित गर्नुपर्ने, पुस्तकलाई डिजिटलाइज्ड गर्नुपर्ने, विकास तथा व्यवशायीकतासँग पुस्तक लेखन तथा पठनलाई जोड दिनुपर्ने जस्ता सुझाव दिएका थिए ।
भेलाले इटहरीमा परिक्षणस्वरुप दाहालको संयोजकत्वमा विमल नेपाल, तिर्थ भण्डारी, गोविन्द पुरी, विवश राई, रोशन भुजेल र सदस्य सचिवमा नितेश गौतमसहित सात जनाको तयारी तथा तदर्थ समितीसमेत निर्माण गरेको छ ।
संयोजक दाहाल २० वर्षदेखि शिक्षा विकास, शिक्षक तालिम, अभिभावक शिक्षा, सिपमुलक तालिम र शिक्षा परामर्शको क्षेत्रमा सिटिएफ नेपाल नामक संस्थामा सक्रिय छन् ।