हिमाल सुरक्षा परिषदद्वारा सशस्त्र युद्धको घोषणा

न्युजलय १६ फाल्गुण २०७८, सोमबार ०६:०६ मा प्रकाशित

काठमाण्डौ । हिमाल सुरक्षा परिषद नेपालले सशस्त्र युद्धको घोषणा गरेको छ । 

आइतबार एक विज्ञप्ती जारी गर्दै हिमाल सुरक्षा परिषद नेपालले संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्रसहितको २०४७ सालको संविधान लागू गर्न माग गर्दै सशस्त्र युद्धको घोषणा गरेको हो ।

हिमाल सुरक्षा परिषद नेपालका केन्द्रिय अध्यक्षको हस्ताक्षरसहित प्राप्त विज्ञप्तिमा यो देशको परिस्थिति भ्रष्ट्राचार देशद्रोही र खर्चिलो संघीयतालाई ध्यान दिएर सशस्त्र युद्धको घोषणा गरेको बताइएको छ । परिषदले विभिन्न २० बुँदे मागहरू पनि राखेको छ ।

संघीयता खारेज, ५ विकास क्षेत्र कायम गरिनुपर्ने, हिन्दु राष्ट्रिय कायम गर्नुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सिमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्ने लगायतका मागहरू अघि सारेको छ ।

यही परिषदको नाममा झापाको बिर्तामोड र दमकमा बम आतङ्क सिर्जना गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।