मोरङ । मोरङको मिक्लाजुङबाट हत्यामा संलग्न दुईजनालाई १६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
व्यक्तिको हत्या गरेर शवलाई जंगलमा फालेको घटनामा संलग्न मिक्लाजुङ गाउँपालिका–१ का ७० वर्षीय देवीप्रसाद राई र ५० वर्षीय धनकुमार राई पक्राउ परेका हुन् ।
देवीप्रसाद मंगलबार र धनकुमार गत शनिबार पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै जनालाई गाउँघरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।
मिक्लाजुङ–१ का ३५ वर्षीय सन्तोष राईको २०६४ जेठ २० गते राति हत्या भएको थियो । सन्तोषको हत्या देवीप्रसाद र धनकुमारले गरेको प्रहरीको भनाइ छ ।
जिल्ला अदालत मोरङले दुवै जनालाई २०६७ सालमा दोषी ठहर गर्दै जनही ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । तर, घटनापछि फरार बनेका उनीहरूले हालसम्म सजाय भुक्तान गरेका थिएनन् ।
प्रहरीले अदालतमा बुझाएपछि दुवैजनालाई मोरङ अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।