इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट पछि हट्यो यातायात विभाग

न्युजलय २५ जेठ २०७९, बुधबार ०२:२५ मा प्रकाशित

काठमाडौँ । यातायात व्यवस्था विभाग साउन १ बाट इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट पछि हटेको छ । विभागले विज्ञप्ति जारी गर्दै सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरेको स्पष्ट पारेको हो ।


विभागले मंगलबार विज्ञप्ति जारी गर्दै १ साउनबाट सडकमा गुड्ने सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने आशय विभागको नरहेको जनाएको छ ।


विभागले जारी गरेको विज्ञप्तिमा १ मंसिर २०७८ देखि दर्ता भएका सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य रहेको उल्लेख गरिएको छ ।


२२ कात्तिक २०७८ को राजपत्रमा प्रकाशित सूचनाबमोजिम ज–जसले इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने थियो, ती सवारीमा यस्ता प्लेट जडान भएका छन् वा छैनन् भन्ने कुरामा अनुगमन गर्नुपर्ने देखिएको विभागले जनाएको छ ।

 

इम्बोस्ड नम्बर प्लेट जडानका लागि सबै पूर्वाधार तयार रहेको विभागको दाबी छ ।