कठमाण्डौ ।कोरोनाका कारण रोजगारी गुमाएका ५ लाख अतिविपन्न परिवारलाई १० हजारका दरले राहत लिनका लागि अर्थ मन्त्रालयले आवेदन आह्वान गरेको छ ।
मन्त्रालयले बिहीबार(आज) एक सूचना जारी गर्दै १५ दिन आफू स्थायी वा अस्थायी (न्यूनतम विगत ६ महिना) रुपमा बस्दै आएका स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्न अनुरोध गरेको छ ।
मन्त्रालयका अनुसार देशभरका ५ लाख परिवारलाई १० हजारका दरले ५ अर्ब रुपैयाँ राहत दिने तयारी छ । राहत लिन चाहने निवेदकले ‘कोभिड–१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि, २०७८’को अनुसूची २ अनुसार निवेदन दिनुपर्ने हुन्छ ।
कोभिड महामारीका कारणले रोजगारी गुमाएका र रोजगारीको अर्को अवसर प्राप्त गर्न नसकी बेरोजगार भएको असंगठित क्षेत्रका कामदार र मजदुर परिवारले राहत पाउनेछन् । खुला सडक, फुटपाथ वा चौरमा खर्पन, नाङ्लो, डोको आदिमा सामान बेच्ने अति विपन्न व्यवसायीले समेत राहत पाउने छन् ।
यस्तै, दैनिक ज्याला मजदुरी, ज्यालादारी, रिक्साचालक, ठेलागाडा र सार्वजनिक यातायात मजदुर तथा पर्यटक भरियाले समेत राहत पाउने अर्थ मन्त्रालयले बताएको छ । यसका साथै, कोभिड–१९ महामारीका कारण आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यू भइ आर्थिक संकट झेल्नु परेका परिवारले समेत आवेदन गर्न पाउनेछन् ।
यद्यपी, घरका सदस्य सरकारी, निजी वा अन्य कुनै संघसंस्थामा वा वैदेशिक रोजगारीमा भएको तथा विदेशी सरकारबाट पेन्सन खाइरहेको परिवारले राहत पाउने छैनन् । यस्तै, सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भक्ता लिने परिवारले समेत राहत नपाउने मन्त्रालयले बताएको छ ।