४३६ जना यात्रुले भरिभराउ चन्द्रागिरि केबलकार बिचमै अचानक बन्द भएपछि

न्युजलय २३ असार २०७९, बिहिबार ०१:१५ मा प्रकाशित

काठमाडौँ । बुधबार दिउँसो यात्रुले भरिभराउ चन्द्रागिरिको केबलकार एक्कासि बन्द भयो । विद्युत आपूर्तिमा समस्या आई चलिरहेका केबलकार बन्द भएपछि यात्रु आत्तिए । 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ४३६ जना यात्रु केबलकारको डिब्बाभित्रै करिब एक घण्टा अड्किए । 

केबलकार बन्द भएपछि बीचमा अलपत्र परेका यात्रुलाई जेनेरेटरबाट वैकल्पिक ऊर्जा प्रवाह गरी स्टेसनसम्म पु¥याउने प्रयास गरिएको थियो तर आन्तरिक विद्युत् प्रणालीले काम नगरेपछि झन्डै एक घण्टा यात्रु बीचमा अड्किएका थिए । 

केबलकार नचलेपछि चन्द्रागिरिको डाँडामा पुगेका यात्रुलाई सकुशल उद्धार गर्न एक सयभन्दा बढी प्रहरी, चिकित्सक तथा नर्ससहित उद्धार टोली परिचालन गरिएको थियो । केबलकार नचल्दा चन्द्रागिरिको डाँडामा ४३६ यात्रु फसेको प्रहरीले जनाएको छ । चन्द्रागिरिको डाँडामा फसेका यात्रुलाई मकवानपुरको चित्लाङ हुँदै उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।

केबलकारमा यसअघि पनि प्राविधिक समस्या आउने र बन्द हुँदा यात्रु केबलकारमा अलपत्र पर्ने गरेका छन् । यसअघि २०७८ चैत १६ गते पनि  प्राविधिक समस्या आएर केबलरकार बन्द भएपछि पाँच बालबालिकासहित ३७ जना यात्रुको झन्डै तीन घण्टापछि उद्धार गरिएको थियो ।