लालबहादुरको न्यायको माग गर्दै इटहरीमा प्रदर्शन

अर्जुन राई अपहेलित ३ साउन २०८०, बुधबार ०२:१२ मा प्रकाशित

इटहरी । लालबहादुर विश्वकर्माको न्यायको माग गर्दै इटहरीमा प्रदर्शन गरिएको छ । 

सुनसरी जिल्ला अदालतबाट ठगी मुद्दामा १८ महिना जेल र ३ करोड १४ लाख ३३ हजार बिगो तिर्नुपर्ने सजाय पाएका इटहरी–१९ तरहराका गोपाल भनिने लालबहादुर विश्वकर्मा निर्दोष रहेकाले उनलाई रिहा गर्नुपर्ने माग सहित प्रदर्शन गरिएको हो ।

जिल्ला अदालत सुनसरीको फैसलाले अन्यायमा परेको भन्दै पुनरावेदन दिए पनि सुनवाइ नभएको जनाउँदै लालबहादुरलाई चाँडो न्याय दिन माग गर्दै प्रदर्शन भएको हो ।

लालबहादुरका आफन्त तथा छिमेकी सहित इटहरी उपमहानगरपालिका कार्यालय अगाडी भेला भएका स्थानीयले गरिब निमुखाले अदालतबाट न्याय पाउन निक्कै कष्ट भोग्नुपरेको भन्दै नाराबाजी सहित प्रदर्शन गरेका हुन ।

जनप्रदर्शनमा धरान उपमहानगरपालिकाबाट रास्वपा नेता सरिन तामाङ, इटहरीका मेयर हेमकर्ण पौडेललगायतकोसमेत सहभागिता थियो । उनीहरुले न्यायलयले पीडित विकलाई न्याय दिनुपर्नेमा जोड दिएका छन् । 

विकको पक्षमा काठमाडौको माइतीघर मण्डलामासमेत प्रदर्शन भइरहेको छ भने उनको पक्षमा देशभरका कलाकार, राजनीतिज्ञहरुलेसमेत सामाजिक सञ्जालमार्फत् अपिल गरेका छन् ।

इटहरी–२० तरहरामा २०७२ देखि सञ्चालनमा आएको सिंहदेवी ज्वेलर्समा ज्यालादारीमा गहना बनाउने काम गर्ने लालबहादुरलाई सुनसरी जिल्ला अदालतले ठगी गरेको भन्दै ३ करोड १४ लाख ११ हजार १ सय ४८ रुपैयाँ बिगो र ठगी गरेको अर्को मुद्दामा ७० हजार जरिवाना सहित डेढ वर्ष कैद तोकेको थियो । हाल उनी आठ महिनादेखि सुनसरीको झुम्का कारागारमा छन् ।

यसरी फँसे लालबहादुर, उच्च अदालतबाट न्याय पाउने आश