राष्ट्र बैंकका २०० जनाभन्दा धेरै कर्मचारी ‘भेडा’ जस्ता रहेको रिपोर्ट सार्वजनिक

न्युजलय ३२ साउन २०८०, बिहिबार ०७:०३ मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकमै २०० जनाभन्दा धेरै कर्मचारीहरु ‘भेडा’ जस्ता अर्थात् कामै नलाग्ने, बुद्धु रहेको रिपोर्ट सार्वजनिक भएको छ ।

राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले केही दिनअघि सार्वजनिक गरेको ‘नेपाल राष्ट्र बैंकमा मानव संशाधन व्यवस्थापन अभ्यास’ सम्बन्धी अध्ययन प्रतिवेदनअनुसार राष्ट्र बैंकमा कार्यरत २० प्रतिशतभन्दा धेरै कर्मचारी ब्ल्याक सीप (कालो भेडा) अर्थात् काम नलाग्ने रहेको उल्लेख छ । राष्ट्र बैंकमा कूल १०८२ जना कर्मचारी कार्यरत छन् ।

राष्ट्र बैंकमा १८ विभाग छन् । जसको नेतृत्व विशिष्ट अधिकृत अर्थात् कार्यकारी निर्देशकले गर्छन् । कार्यकारी निर्देशक पद राष्ट्र बैंकको कर्मचारी तहमा सबैभन्दा उच्च तहको पद हो । त्यहाँभन्दा माथिरहेको दुई डेपुटी गभर्नर र गभर्नर राजनीतिक नियुक्ति हो ।

कार्यकारी निर्देशकहरुमध्ये ९० प्रतिशतले आफ्नो विभागमा कार्यरत २० प्रतिशत कर्मचारी कामै नलाग्न, अल्छि, बुद्धु बताएको प्रतिवेदनमा उल्लेख छ ।

१० प्रतिशत विभागिय प्रमुखले आफ्नो विभागका ४१ देखि ६० प्रतिशत कर्मचारी ब्ल्याक सीप अर्थात् कामै नलाग्ने भएको जवाफ दिएका छन् ।

‘कूल कर्मचारीमध्ये केही कर्मचारी राष्ट्र बैंकको जागिरमा योग्य छैनन् । परामर्श, तालिम, प्रेरणा दिँदै उनीहरुलाई सुहाउने अर्को जागिरमा पठाउनुपर्ने देखिन्छ,’ प्रतिवेदनको निष्कर्षमा भनिएको छ ।