काठमाडौँ । घरेलु कामदारका रुपमा जोर्डनमा कार्यरत दुई नेपाली युवतीको शव गाडिएको अवस्थामा फेला पारी उत्खनन गरी शवको अवशेष सोमबार नेपाल ल्याइएको छ ।
राजधानी अम्मानमा कार्यरत तेह्रथुम घर भएकी ३७ वर्षीया लीलामाया लिम्बू र सिन्धुपाल्चोककी २२ वर्षीया सुस्मिता तामाङको गत वर्ष असोज कात्तिकमा निधन भएपनि तिनको शव घरफिर्ती हुन सकिरहेको थिएन । यसबारे जानकारी पाएर जोर्डनको कूटनीतिक मामला हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासले ताकेता गर्दै आएको भएपनि गत वर्ष माघ ४, २०७९ मा दुवै जनाको शव गाडिएको अर्को सूचना आएको थियो ।
दुवैको मृत्युबारे स्थानीय प्रहरी कार्यालय र अदालतले दिएको कारणमा आत्महत्या भनेर खुलाइएको छ । यी दुवै जनाको शव गत वर्ष माघ ४ मा अम्मानस्थित इस्मालिक शव दफनगृहमा पुरिएको सूचना कायरो दूतावासले पाएको थियो ।
आत्महत्या कारण भनेपछि यसमा आवश्यक क्षतिपूर्तिको प्रक्रिया अघि बढाउन मुस्किल हुने खाडी तथा मध्यपूर्वी मुलुकहरुमा नियम रहिआएको छ । तर, अलग—अलग घरमा आत्महत्या गरेको अवस्था र घटनाको ५ महिनापछि शव गाडिएको स्थितिका बारेमा प्रहरी अनुसन्धान तथा अदालती फैसलामा पनि केही उल्लेख गरिएको छैन ।
दुईमध्ये लीलामायााले गत वर्ष असोज ८ (२४ सेप्टेम्बर २०२२) र कात्तिक २१(७ नवेम्भर, २०२२)मा घाँटीमा पासो लगाएर आत्महत्या गरेको प्रहरी रिपोर्टमा उल्लेख छ ।