महावीरलाई पुस्तक बेच्न सघाउँदै विश्व आदर्श कलेज (भिडियोसहित)

न्युजलय २४ मङ्सिर २०८०, आइतबार ०१:५० मा प्रकाशित

इटहरी । इटहरीस्थित विश्व आदर्श कलेजले महावीर पुनको आत्मकथा पुस्तक बेच्न सहजिकरण गर्न थालेकोछ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई रकम जुटाउन सहयोग गर्ने उद्देश्यले उनको आत्मकथा बिक्रिका लागि राखिएको कलेजका प्राचार्य गणेश दुलालले जानकारी दिएका छन् । 

पुनको पुस्तक लाइब्रेरी र शिक्षक कर्मचारीहरुका लागि २०० वटा खरीद गरि सहयोग गरिएको र आइतबारदेखि शिक्षक र विद्यार्थीहरुलाई बिक्रिका लागि राखिएको दुलालले बताए । ‘पहिले हाम्रै शिक्षक, अविभावकहरुलाई पुस्तक खरिदका लागि प्रेरित गरेका छौं,’ उनले भने, ‘इटहरी र आसपासका इच्छुक पाठकहरुले पनि कलेजमा सम्पर्क गरेर किन्न सक्नुहुनेछ ।’ 

उनले खरीद मुल्यमै पुस्तक बिक्रि गरीने र पुस्तकबाट प्राप्त रकम सबै केन्द्रलाई पठाइने बताए । 

पुस्तक पसलले ३० प्रतिशत कमिसन मागेको भन्दै पुन आफै सडकमा पुस्तक बेच्न उत्रिएपछि कलेजले 'स्टुडेन्ट क्वालिटी सर्कल'को सहयोगमा पुस्तक बिक्रि सहजिकरण थालिएको दुलालले बताए ।

कलेजले आजैदेखि चार दिने साहित्य उत्सवसमेत सुरु गरेको छ । कलेजका विद्यार्थीहरुको सहभागितामा सुरु गरिएको उत्सवअन्तर्गत आइतबार वक्तृत्वकला प्रतियोगिता गरिएको छ भने कविता वाचन, पुस्तक समिक्षा, चलचित्र समिक्षा र चित्रकला प्रतियोगिता गरिने उनले जानकारी दिए ।