इटहरी । दिनेश भट्टराई इटहरीमा समाजसेवाको क्षेत्रमा चिनिएको नाम हो । धेरै सामाजिक संघसंस्थामा रहेर नेतृत्वदायी भुमिका निभाइसकेका भट्टराई इटहरी रेडक्रसको सभापती बनेको दुई वर्ष पनि पुगेको छैन, उनले इटहरी रेडक्रसलाई नयाँ भवन दिएका छन् ।
इटहरी ६ मा १४ धुर जग्गामा बनेको साँघुरो पुरानो भवनमा सञ्चालनमा रहेको इटहरी रेडक्रस यसै वर्षको पुस महिनामा इटहरी ४ रेडक्रस चोकस्थित आफ्नो नयाँ भवनमा सर्ने भएको छ । यहाँ रहेको तीन कठ्ठा जग्गामा एक तले भवन, सवारी चालक बस्ने घर, एम्बुलेन्स र शववाहन राख्ने ग्यारेजलगायतका पुर्वाधार निर्माण सम्पन्न भइसकेको छ भने अब फिनिसिङको काम बाँकी छ ।
उनले आफू सभापति भएपछि भवन बनाउने अभियान अघि बढाए । इटहरी उपमहानगरपालिकाको १५ लाख रुपैया सहयोग गरेको थियो । त्यसपछि उनले एक लाख रुपैया सहयोग गर्नेले पाउने यशस्कर सदस्य विस्तार अभियान अघि बढाए । सँगै २५ हजार रुपैयाको विशिष्ट सदस्यता वितरण पनि सुरु गरे । पहिलो सुरुवात भने उनले आफ्नै छोराबुहारी र आफन्तहरुबाट गरे । त्यसपछि इटहरीका व्यवशायी, समाजसेवीहरु पनि एक पछि अर्को गर्दै जोडिए । यशस्कर सदस्यहरु ८० जना बनिसकेका छन् भने विशिष्ट सदस्य ५० भन्दा बढी बनेका छन् ।
अहिलेसम्म एक करोड बढी रकम खर्च भएको छ । आगामी दिनमा माथिल्लो तला थपेर तल्लो तलामा ब्लड बैंक सञ्चालन गर्ने योजना रहेको भट्टराईले बताए । त्यसको लागि इटहरी उपमहानगरपालिका अनि दाताहरुसँग उनको अझै अपेक्षा छ । ‘इटहरीमा अस्पतालहरुको संख्या बढीरहँदा एउटा ब्लड बैंकको आवश्यकता परेको छ, हामी त्यसतर्फ अग्रसर भएका छौं,’ उनले भने, 'एम्बुलेन्स र शववाहन सञ्चालन गर्नुका साथै विपतको समयमा इटहरीवासीहरुलाई राहत दिइरहेको इटहरी रेडक्रसलाई व्यवस्थित गर्न सकेमा यसले हामी सबैलाई विपतमा सहयोग गर्न सक्छ ।'