उर्लाबारी आगलागीमा परी घाइते रामनरेशको मृत्यु, मृतकको संख्या पाँच पुग्यो

न्युजलय १२ मङ्सिर २०८०, मङ्गलबार १०:४५ मा प्रकाशित

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–७ मा आगलागीमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । 

उर्लाबारी –७ आगलागीमा परी घाइते भएका ४३ वर्षीय रामनरेश मारिताको सोमबार राति उपचारको क्रममा मृत्यु भएको हो ।

कात्तिक २६ गते लक्ष्मीपूजाको राति आगो नियन्त्रण गर्ने क्रममा २८ जना घाइते भएका थिए । धनुषा जनकनन्दी गाउँपालिका–७ निवासी तथा हाल उर्लाबारी–७ निवासी मरिताको राति करिब ११ः३० बजे मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।  

गम्भीर घाइते हुनेमा उर्लाबारी ७ का ६८ वर्षीय रुकुमबहादुर कार्की, ४९ वर्षीय हेमकुमार दाहाल, ४२ वर्षीय कुमार तामाङ र ४३ वर्षीय तपन पण्डित रहेका छन् । लक्ष्मीपूजाको राति स्थानीय दीपक कार्कीको स्वामित्वमा रहेको स्नेहा सुनचाँदी व्यवसायमा लागेको आगो निभाउने क्रममा चार प्रहरी र २४ स्थानीय घाइते भएका छन् ।