प्रधानमन्त्री देउवाले आज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्ने

न्युजलय ११ भदौ २०७९, शनिवार ०२:३२ मा प्रकाशित

बुटवल । बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज (शनिबार) उद्घाटन गरिंदैछ । सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन् । 


एक अर्ब ११ करोड रुपैयाँको लागतमा बनेको सम्मेलन केन्द्रको बिहान १० बजे उद्घाटन गर्ने आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए ।

 

उद्घाटन कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकास मन्त्री मेटमणि चौधरी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको पन्थीले बताए ।


पूर्वपश्चिम राजमार्गसँग जोडिएको बुटवल उपमहानगरपालिका १० रामनगरस्थित बुटवल मण्डपको साढे ९ बिघा क्षेत्रफलमा सम्मेलन केन्द्र बनेको छ ।


एमालेको बुटवलमा सम्पन्न आठौं महाधिवेशनले बुटवलमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र आवश्यक रहेको एजेण्डा पारित गरे अनुसार रुपन्देही २ का सांसद तथा एमाले उपाध्यक्ष विष्णु पौडेलको योजनामा सम्मेलन केन्द्र बनेको हो ।


सम्मेलन केन्द्रको जग्गा प्राप्तिमा पौडेलसँगै तत्कालीन सांसद सूर्यप्रसाद प्रधानले पहल गरेका थिए । सम्मेलन केन्द्रमा एक हजार १०० क्षमताको मुख्य हल र अन्य १२ वटा साना हल रहेका छन् ।


विक्रम संवत् २०७१ माघ १५ गते सम्झौता भएर निर्माण सुरू भएको सम्मेलन केन्द्र दोस्रो चरणमा २०७४ सालमा सम्झौता गरी २०७६ कात्तिकसम्मको समयावधि तोकेर काम भएको हो ।


तोकिएको समयमा काम नगरेपछि २०७९ कात्तिकसम्म म्याद थप गरिएको थियो । थप भएको म्याद अगावै निर्माण सम्पन्न भएको पन्थीले बताए ।