इटहरी । राप्रपा नेपालका अध्यक्ष कमल थापाले दरबार हत्याकाण्डको छानविन गर्न माग गरेका छन् । उनले चाँडोभन्दा चाँडो निष्पक्ष, उच्चस्तरीय न्यायिक आयोग गठन गरेर छानविन प्रकृया अगाडि बढाउन माग गरेका छन् ।
सुनसरीको इटहरीमा भएको पार्टीको क्षेत्रीयस्तरको अन्तिम प्रशिक्षणमा बोल्दै उनले यस्तो माग राखेका हुन् । थापाका अनुसार प्रधानमन्त्रीले नै छानविन गर्न नचाहेको बरु उक्त विषयलाई लिएर बारम्बार भ्रम सृजना गर्न खोजेको आरोप लगाएका छन् ।
‘यदि प्रधानमन्त्री इमान्दार हुनुहुन्छ भने आफ्नो बोलिमा पक्का हुनुहुन्छ भने छानविन गर्नुहोस्,’ उनले भने, ‘तर छानविन गराउने उहाँको नियत नै होइन । त्यो केवल भ्रम सिर्जना गर्ने एउटा थप प्रयास हो ।’
उनले देशमा हाल कायम रहेको धर्म निरपेक्षता, सङ्घीयता, गणतन्त्र असफल भइ भ्रष्ट र तस्करतन्त्रमा रुपान्तरण भएकोसमेत आरोप लगाएका छन् । विकल्पमा राजासहितको प्रजातन्त्र सर्वधर्म समभाव र धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र आवश्यक पर्ने दोहोर्याएका छन् ।
उनले अहिले लोकतन्त्रको आवरणमा देशमा ब्रह्मलुट भएको, सीमित राजनीतिक दलका सीमित नेताहरुले सिण्डिकेट खडा गरेर भ्रष्टाचार गरेको र अकुत सम्पत्ति कमाएको बताएका छन् । वितृष्णाका कारण देश छाडेर जाने क्रम बढेको ।
उनले यसको लागि आन्दोलन आवश्यक रहेको तर एक्लै गरेर नहुने भएकोले मोर्चा बनाउन पहल थालेको बताए । समान विचार भएका संगठनहरु एक भएर राष्ट्रिय मोर्चा बनाउनको लागि राप्रपा तथा दुर्गा प्रसाईलगायतका व्यक्ति र अन्य समूहसँग पनि सम्वाद गरिराखेको बताए ।
‘अहिले धर्म निरपेक्ष, सङ्घीयता र गणतन्त्रका सवाहकबाट राज्य सत्ता कब्जा गरेका छन् । भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएका छन् । यिनीहरुलाई विस्थापित गर्न सजिलो छैन । त्यही कारणले गर्दा हामीले मोर्चा निर्माणको प्रयास गरेका हौं,’ उनले भने ।
उनले आफूहरु सच्चिएर आएकोसमेत बताएका छन् । ‘हिन्दू राष्ट्र र राजसस्थाको एजेण्डा बोकेको पार्टी पटकपटक सरकारका गएको जुनसुकै सरकारमा पनि सहभागी भएको जनताले चित्त बुझाएनन् । हामीले हिन्दू राष्ट्र र राजसस्था पुनर्स्थापित हुने सुनिश्चित नभइकन सरकारमा जानुहुदैन भन्ने मान्यतामा कायम रहनुपर्छ भन्ने हाम्रो पार्टीको धारणा छ,’ उनले भने ।
उनले राजसंस्थालाई पुनर्स्थापित गर्नु भनेको प्रजातन्त्रलाई कमजोर बनाउनु नभएको जिकिर गरे । उनले राजाविहीन प्रजातन्त्रको अभ्यास गरेको १७ वर्ष भएको र त्यसबाट राष्ट्रले कुनै उपलब्धि हासिल गर्न नसकेको बताए ।
स्वयम् गणतन्त्रभित्रकै अन्तरविरोधले गर्दा गणतन्त्र कायम हुनसक्दैन भन्ने तथ्यलाई विगतका घटनाक्रमले प्रमाणित गरिराखेको उनको तर्क थियो ।