इटहरीमा हात्तीको आक्रमणमा परी मृत्यु भएका खड्काको परिवारलाई उपमहानगरले एक लाख दिने

न्युजलय १४ मङ्सिर २०८०, बिहिबार १०:१८ मा प्रकाशित

इटहरी । इटहरी–२ मा गएराति हात्ती आक्रमणमा परी मृत्यु भएका पीडित परिवारलाई उपमहानगरले एक लाख रुपैयाँ दिने भएको छ ।

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले पीडित परिवारको घरमा पुगेर एक लाख रुपैयाँ दिने बताएका हुन् ।

उनले हात्ती नियन्त्रण गर्नका निम्ति आफूहरूसँग कुनै सयन्त्र नभएको बताउँदै साइरन जडान, बत्ती जडानजस्ता कुरामा भने उपमहानगरले काम गरिरहेको बताए ।

गएराति इटहरी–२ बुढासुब्बा चोक नजिकै हात्ती आक्रमणबाट २६ वर्षीय रविन खड्काको मृत्यु भएको थियो ।

उनलाई बुधबार ९ बजे हात्तीले आक्रमण गरेको थियो । हात्ती धपाउन ठूलो भीड जम्मा भएका स्थानीयले हात्ती धपाउने क्रममा खड्कामाथि हात्तीले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।