लगातार तेस्रो कार्यकालका लागि जनता माविको अध्यक्ष चुनिए काशीनाथ दंगाल

न्युजलय २५ बैशाख २०८३, शुक्रबार ०८:१७ मा प्रकाशित

इटहरी । काशीनाथ दंगाल तेस्रो पटक इटहरीस्थित जनता स्कुलको व्यवस्थापन समिति अध्यक्ष चुनिएका छन् । इटहरी उपमहानगरपालिकाको शिक्षा समितिको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो । 

समितिको सदस्यहरुमा विमल नेपाल, मन्जु कठायत, नैनकला सिटौला, नगेन्द्र अधिकारी (शिक्षक प्रतिनिधि) र पशुपति सिग्देल (प्रधानाध्यापक) छन् ।

इटहरी उपमहानगरपालिकाको शिक्षा ऐन, २०७९ को परिच्छेद ४ को दफा ३४ (६) बमोजिम नगर शिक्षा समितिले निर्णय गरेको पत्र दिइएको छ ।


एक वर्षको रस्साकस्सी 

विद्यालयमा एक वर्षदेखि व्यवस्थापन समिति गठन हुन सकेको थिएन । समिति बनाउनका लागि पटक पटकका प्रयासहरु असफल भएका थिए ।


पछिल्लो पटक व्यवस्थापन समिति अध्यक्षका लागि दंगालसहित ७२ जना अविभावकहरुले नाम दर्ता गराएका थिए । तीमध्ये दंगालले नै नाम फिर्ता लिँदै सहमतिका लागि भन्दै छाडिदिएका थिए । 


तर समिति बन्न नसकेपछि र राजनीतिकरण हुन थालेपछि उपमहानगरपालिकाको शिक्षा समितिले निर्णय गरेको बताइएको छ । अध्यक्षका रुपमा दंगाललाई ल्याउनुको कारण भनेको उनले विगतका दिनमा दिएको योगदानलाई आधार बनाइएको समिति स्रोतले जनाएको छ । 


जनता स्कुलको स्तरोन्नती

दंगाल पुनः अध्यक्षको रुपमा आएपछि अविभावकहरुले सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन् । विद्यालयले विकासको पुरानै गति समात्ने आशा व्यक्त गरेका छन् ।


दंगाल २०७५ असारमा पहिलो पटक अध्यक्ष चयन भएका थिए । अभिभावक भेलाबाट चयन भएका ४ सदस्य मध्येबाट उनी सर्वसम्मत अध्यक्ष भएका हुन् । २०७८ असारमा उनको कार्यकाल पुरा भए पनि तत्कालीन मेयर तथा शिक्षा समिति संयोजक द्वारिकलाल चौधरीले म्याद थप गरिदिए । म्याद थप गरेको अन्तरिम समितिले झन्डै एकबर्ष कार्यकाल चलायो । २०७९ वैशाखमा ३ गते उनै दंगाल दोस्रो पटक अध्यक्ष भए भने २०८२ वैशाखमा समय सकिएपछि विद्यालय व्यवस्थापन समिति रिक्त बनेको थियो ।


आफ्नो कार्यकालमा दंगालले विद्यालयमा भौतिक पुर्वाधार, शिक्षक, विद्यार्थी थप गरेर नयाँ उचाइमा पुर्याएका थिए । उनी आउँदा १२ वटा कक्षा कोठाको विद्यालयलाई उनले ७६ वटा कोठामा विस्तार गरेकाथिए । यस्तै ३२ जना शिक्षकशिक्षिका तथा कर्मचारी रहेकोमा १४८ जना पुर्याएका थिए । 


यसैगरी विद्यार्थी पनि ७७४ जनाबाट तीन हजार २०१ पुर्याएका थिए । इन्ट्रान्स लिएर विद्यार्थी भर्ना गर्ने व्यवस्था सुरु गराए । यसैगरी विद्यार्थी आवतजावतका लागि तीन वटा बस थपे भने विद्यालयले नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन सुरु गरेको थियो । 


कक्षा कोठाहरु प्रोजेक्टर, डिजिटल बोर्डसहित अत्याधुनिक र व्यवस्थित बनेका थिए भने शिक्षकहरु पनि प्रतिष्पर्धी तलब स्केलमा ल्याएर राखिएका थिए । विद्यालयका शिक्षकहरुका छोराछोरी पनि जनतामै पढाउनुपर्ने व्यवस्था समितिले गरेको थियो ।


विद्यालयमा शिक्षा, मानवीकी, कम्प्युटर साइन्ससहितको व्यवस्थापन, विज्ञान र कानुन विषय पढाइ हुन्छ । विज्ञान विषयको लागि मात्रै छुट्टै ९ कोठाको भवन दंगालकै पालामा बनाइएको थियो । विद्यार्थीहरुले अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ठ स्थान हाँसिल गर्ने क्रम सुरु भएको थियो ।


दंगालमा सबै राजनीतिक दलहरु, शिक्षासम्बद्ध निकायहरुसँग समन्वय गर्ने खुबी छ । सोही कारण उनले सबै पार्टीका सरकार, शिक्षा मन्त्रीहरुबाट विद्यालयको लागि सहयोग जुटाएका थिए ।


आगामी योजना

दंगाल सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ केन्द्रीय सचिव समेत हुन् । महासंघमार्फत् उनी देशभरका सामुदायिक विद्यालयको सुधारका लागि सक्रिय छन् । उनले आवश्यक नीतिगत सुधार, बजेट विनियोजनका लागि सरकारसँगसमेत पहल गरिरहेका छन् । दंगाल अध्यक्षबाट हटिसकेपछि पनि उनले थप भवनका लागि पहल गरिरहेका थिए ।


नयाँ कार्यकालमा जनता स्कुललाई अर्को उचाईमा लाने उनले बताएका छन् । सँगै इटहरीका अन्य सामुदायिक विद्यालयहरुलाई पनि व्यवस्थापनका लागि सहयोग गर्ने र बजेटका लागि पहल गर्ने योजना रहेको उनी बताउँछन् । जनता मावि इटहरीको अविभावक विद्यालय हो । २०१३ सालदेखि विधिवत सञ्चालनमा आएको स्कुलले ३० को दशकमा विद्यार्थी संख्या बढेर थाम्नै नसक्ने भएपछि इटहरीका अन्य ठाउँहरुमा जग्गा दिएर स्कुलहरु खोल्न सहयोग गरेको थियो । 


इतिहासमै दोस्रो पटक जनता स्कुलले इटहरीका अन्य सामुदायिक विद्यालयलाई पनि सहयोग गर्ने र सबैको स्तरोन्नतीका लागि पहल गर्ने योजना रहेको उनले बताए ।