हिन्दु र मुस्लिमबीच झडपको सम्भावना बढेपछि नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु

न्युजलय १६ असोज २०८०, मङ्गलबार ०८:०३ मा प्रकाशित

काठमाडौं । सामाजिक सञ्जालमा लेखिएको स्टाटसकै आधारमा नेपालगञ्जमा तनाव बढेको पाइएको छ । असोज १४ गते (आइतबार) सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर प्रदर्शन भएको हो । 


मंगलबार (आज) बिहान मुस्लिम समुदायले विरोध र्‍याली निकालेपछि ओमकार परिवार हिन्दु समाजले पनि र्‍याली निकालेको हो । 


ओमकार परिवार हिन्दु समाजले निकालेको र्‍यालीका क्रममा विवाद उत्पन्न भई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा सार्वजनिक सम्पत्ति तोडफोडका साथै ढुंगामुढा प्रहार, उच्छृङ्खल गतिविधि भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।


आजै बिहान मात्र धार्मिक तथा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले बृहत सद्भाव र्‍याली निकालेर नेपालगञ्ज नगर परिक्रमा गरिएको थियो । स्थिति नियन्त्रणबाहिर जान थालेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । 


पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकासम्मको क्षेत्रमा कर्फ्यु आदेश जारी भएको हो ।  कर्फ्यु आदेश उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले आवश्कता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जनाएका छन् ।


जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबारमात्र जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पु‍र्‍याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न र सामाजिक सञ्जालमा पनि एकअर्काविरुद्ध जथाभाबी नलेख्न आग्रह गरेको थियो । यदि त्यसो गरेमा स्थानीय प्रशासन ऐन २०२८ तथा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने जारी आदेशमा उल्लेख छ । 


नेपालगञ्ज उपमहानगरका पूर्व मेयरसमेत रहेका सांसद धवलशमशेर जबराले मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सदभावको शहर नेपालगञ्जमा अशान्ति नफैलाउन नेपालगञ्जबासीलाई आग्रह गरेका छन् । 

सांसद जबराले नेपागञ्जमा हिंसा भड्किन नदिन तथा परिस्थितिलाई तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउँदै सो क्षेत्रमा मोबाइल नेटवर्क बन्द गर्न माग गरेका छन् ।