इटहरी । इटहरीस्थित विश्वआदर्श कलेज सबैभन्दा बढी
कर बुझाउने संस्था बनेको छ । उसले गत आर्थिक वर्ष ०७९/८० मा १ करोड १८ लाख
८४ हजार ७७५ रुपैया कर बुझाएको छ । यो रकम आन्तरिक राजस्व कार्यालयको सेवा
क्षेत्रभित्रका कुनैपनि व्यवशायीक संस्थाले बुझाएको बढी कर रकम हो । यससँगै कलेजले
सेवा क्षेत्रबाट बढी कर बुझाउने संस्थाको रुपमा सम्मान पाएको छ ।
यस्तै व्यापार तर्फ इटहरी २० तरहराको प्रभु फ्युल
सेन्टर प्रालि सम्मानित भएको छ । उसले ६२ लाख ३१ हजार २६ रुपैया कर बुझाएको छ ।
यसैगरी उद्योगतर्फ धरान प्लाष्टिक्सले ५८ लाख २६ हजार ९६ रुपैया बुझाएको छ भने
बैंक तथा वित्तीय संस्थातर्फ सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले ४९ लाख २५
हजार ९८९ रुपैया बुझाएको छ ।
कार्यालयले १२ औं राष्ट्रिय कर दिवसको अवसरमा मंसिर
१ देखि मनाइरहेको कर सप्ताहको समापनमा उत्कृष्ठ करदाताहरुलाई सम्मान गरेको हो ।
संस्थाका प्रतिनिधिहरुलाई सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सम्मान
गरेकी थिइन् ।
आन्तरिक राजस्व कार्यालय इटहरीका प्रमुख कर अधिकृत
अर्जुन न्यौपानेको सभापतीत्वमा भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु
सहभागि थिए ।
कार्यालयले इटहरी उपमहानगरपालिका, बराह नगरपालिकाको वडा
नं ८ देखि ११ सम्म, इनरुवा नगरपालिका, दुहवी नगरपालिका, रामधुनी नगरपालिका, देवानगञ्ज गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, बर्जु गाउँपालिका, भोक्राहा गाउँपालिका र हरिनगरा गाउँपालिकाका करदाताहरुलाई सेवा दिइरहेको छ
।
३८ हजार ४७० करदाता
इटहरी कार्यालयअन्तर्गत हालसम्म व्यवशायीक स्थायी
लेखा नम्बर लिने करदाताहरु ३८ हजार ४७० वटा रहेका छन् । तीमध्ये भ्याटमा दर्ता
भएकाहरु ५ हजार ६९२ र अन्तशुल्कमा समेत दर्ता हुनेहरु २ हजार ५४८ वटा रहेका छन् ।
यसैगरी यस कार्यालयबाट १ लाख ५ हजार ८२४ जनाले पान नम्बर लिएका छन् ।
आर्थिक क्रियाकलाप सुस्ताउँदाको असर करमा
समग्र आर्थिक क्रियाकलापमा सुस्तता आउँदा कर
संकलनमा पनि त्यसको असर देखिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार
कार्यालयले आर्थिक वर्ष ७९/८० मा ४ अर्ब ८७ करोड रुपैया राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ४ अर्ब ३०
करोड रुपैया संकलन गर्न सकेको थियो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १३.३१
प्रतिशतले बढी हो । कार्यालयले चालु आर्थिक वर्षमा ५.५१ अर्ब संकलन गर्ने लक्ष्य
लिएको छ । जुन गतवर्षको असुलीको २८ प्रतिशतले बढी हो । जसमध्ये कात्र्तिक
मसान्तसम्ममा ८७ प्रतिशत संकलन भइसकेको छ ।
घर जग्गा लगायतको करोबार बन्द हुनु र अहिलेसम्म पनि
सुस्ताउनु, ठेक्का
पट्टाको कारोबार बढ्न नसक्नु, सरकारको पूँजिगत खर्च समयमै हुन नसक्नु, करदाताको लापरवाही बढेर जानु, करको दायरा विस्तार
हुन नसक्नुजस्ता कारणले राजस्व संकलनमा सुस्तता आएको कार्यालयले जनाएको छ ।
कार्यालयले आगामी दिनमा करको दायरा बढाउने, प्रविधिमा आधारित
सेवा दिने, बजार
अनुगमन, अनुसन्धान
तथा कर परीक्षण कार्यलाई जारी राख्ने, कर सचेतना र शिक्षा वृद्धि गर्ने योजना बनाएको जनाइएको छ ।