काठमाण्डौ । स्वास्थ्य मन्त्रालयले बिहीबार (भोलि) देखि पाँच वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्ध खोप दिँदै छ ।
पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई फाइजर खोप लगाउने तयारी गरिएको हो। पहिलो मात्रा लगाएको २१ दिनपछि पुनः दोस्रो मात्राको खोप दिइनेछ। मन्त्रालयका अनुसार यो खोपको दुई मात्रा लगाए मात्रै पुग्छ।
अन्य मुलुकमा पनि बालबालिकालाई दिइने फाइजर खोपको प्रभावकारिता देखिएकाले नेपालमा पनि सोही खोप प्रयोग गर्न लागिएको बताइएको छ ।
केन्द्रले तोकिएका जिल्लामा खोप कार्यक्रमका लागि आवश्यक तयारी र समन्वय गरेको छ। पहिलो चरणमा प्रदेश १ अन्तर्गत झापा, मोरङ, इलाम र सुनसरी, मधेस प्रदेशका सप्तरी, धनुषा, पर्सा, सिराहा र महोत्तरी जिल्लाका बालबालिकालाई खोप दिइनेछ। त्यस्तै, बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुरका बालबालिकालाई खोप लगाइनेछ।
गण्डकी प्रदेशका कास्की र पूर्वीनवलपरासीका बालबालिकालाई खोप दिइनेछ। कर्णाली प्रदेशअन्तर्गत सुर्खेत र सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डडेलधुराका बालबालिकालाई खोप लगाइनेछ।
खोप कार्यक्रमका लागि सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालय र स्थानीय तहसँग समन्वय गरिएको छ। घरनजिकको स्वास्थ्यचौकी, स्वास्थ्य कार्यालय, खोप केन्द्र वा स्थानीय तहको कार्यालयमा खोप लगाउने व्यवस्था गरिनेछ।