२०७८ साल मङ्सिर १३ गते सोमबार

अभिषेक गिरीलाई कैदीबन्दीको विरोधका बीच विराटनगर कारागार ल्याइयो

न्युजलय ९ मङ्सिर २०७८, बिहिबार १०:१६ मा प्रकाशित

विराटनगर ।  कैदीबन्दीहरूको विरोधका बीच अभिषेक गिरीलाई विराटनगर कारागार ल्याइएको छ।

बिहीबार(आज) बिहान गिरीलाई विराटनगर कारागारभित्र प्रवेस गराइएको हो । गिरीले रोजेको ठाउँमा सरुवा गर्दै आएको कारागार व्यवस्थापन विभागले उनलाई अनुकूल हुने निर्णय गर्ने क्रम जारी राखेको थियो।

यही क्रममा बुधबार मोरङ कारागारमा रहेका गिरीको विरोधी मानिने चौकीदारसहितका ८ जना कैदीबन्दीलाई सिन्धुली सरुवा गरिएको छ।

गिरीलाई मोरङ कारागार ल्याउन नहुने भन्दै आन्दोलनमा उत्रिएकामध्ये कैदीबन्दीको तेस्रो लट सरुवा भएको हो। यसअघि दुई चरणमा गिरिको विरोधमा उत्रने कैदीबन्दीको सरुवा गरिएको छ।

गिरीलाई मोरङ कारागार पठाउन विभागले दुई महिनायता निरन्तर प्रयास गरिरहेको थियो। तर कैदीबन्दीले आन्दोलन गरेपछि गिरीको मोरङ कारागार प्रवेश सम्भव भइरहेको थिएन।

डेढ महिनामा तीन पटक चौकीदार फेरेपछि बिहीबार बिहान सुटुक्क गिरीलाई कारागार छिराइएको हो।

गिरीलाई विराटनगर कारागार ल्याउन चौकीदार कात्तिक कामत, सिटी कमान्डर युवराज परियार, वडा नाइके रितेश कामत, आन्तरिक प्रशासनका विकास महतो, विवेक कामत, शिवनारायण माझी र मौसम चौधरीलाई सरुवा गरिएको छ।