त्रिविका प्राध्यापकहरुको तल्लोस्तरको हर्कत, विद्युतीय हाजिरी मेसिन नै बोकेर हिँडे

न्युजलय १९ साउन २०८०, शुक्रबार १०:५६ मा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा जति बेथिती देशको कुनै पनि सरकारी संस्थामा नहोला भन्ने शंका जोकोहीले गर्न थालेका छन् । एकपछि अर्को गर्दै विश्वविद्यालयका कर्मचारी, प्राध्यापकहरुको मनपरीबारे थाहा पाउनेहरुले त्रिविमा ठूलै परिवर्तनको आवश्यकता महसुस गरेका छन् । जसलाई पछिल्लो एक अनौठो घटनाले पनि पुष्टि गर्छ ।


त्रिविले दैनिक आउनुपर्ने उर्दी जारी गरेपछि त्रिविका प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिनसमेत बोकेर हिड्ने गरेको खुलासा भएको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले नै यस्तो कुरा बताएपछि विश्वास नगरेर पनि त भएन ।


शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा उनले विद्युतीय मेसिन बोकेर हिँड्नेहरूलाई कारबाही गर्न दिएको निवेदन प्रहरीलेसमेत बुझ्न नमानेको गुनासो गरे । 


डिजिटल हाजिरी राखिदिएपछि शिक्षकहरूले बोकेर हिँडेको उनले बताए ।


उपकुलपति बास्कोटाले उनीहरूलाई कारबाहीका लागि काठमाडौंको कुनै एक होटलमा आफूहरूले गरेको मिटिङको माइन्युट समेत संगठनको आवरणमा केही मानिसहरूले लुटेर लगेको र तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले बुझेकोमा असन्तुष्टि व्यक्त गरे ।


उनले विश्वविद्यालय राजनीतिक भागबन्डाको थलो भएकाले यसको सुधारमा लागि आफू एक्लैको प्रयासले सम्भव नहुने बताएका छन् ।