नेपालमा थप एक जनामा ओमिक्रोन पुष्टि

न्युजलय ८ पुस २०७८, बिहिबार ०२:२१ मा प्रकाशित

काठमाडौं । नेपालमा थप एक जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण देखिएको छ । 


कोभिड १९ संक्रमितको जिन सिक्वेन्सिङ गर्दा ५८ वर्षका एक वृद्धमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


संक्रमित ती वृद्ध होम आइसोलेसनमा रहेको उनको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको मन्त्रालयका प्रवक्ता डा.संगीता मिश्राले बताइन् । 


यसअघि मंसिर १९ गते दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । ओमिक्रोन भेरियन्ट प्रभावित मुलुकबाट मंसिर ३ गते आएका ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका अर्का व्यक्तिमा ओमिक्रोन भेटिएको थियो ।


अब नेपालमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि हुनेको संख्या तीन पुगेको छ ।