मंसिरमा आम निर्वाचन गर्ने तयारी

न्युजलय २० जेठ २०७९, शुक्रबार ०२:४० मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले ढिलोमा आगामी १० मंसिर भित्र मतदान सक्नेगरी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको अनौपचारिक तयारी थालेको छ । २१ मंसीर २०७९ मा प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरुको पदावधि सकिने भएकाले त्यसअघि नै नयाँ सांसद निर्वाचित हुनेगरी आयोगले आन्तरिक तयारी थालेको हो ।


दुई चरणमा भए ढिलोमा मंसिर १० गतेभित्र, एकै चरणमा भए त्यसअघि सकिने गरी निर्वाचनको तयारी गर्नुपर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । 


निर्वाचन आयोगका अर्का आयुक्तका अनुसार अहिलेसम्म पदाधिकारीहरुको बैठकमा औपचारिक रुपमा आगामी निर्वाचनका बारेमा छलफल सुरु भएको छैन । अनौपचारिक रुपमा भने दशैंतिहार लगत्तै निर्वाचन गर्नुपर्नेवारे छलफल भएको उनी बताउँछन् ।


२२ मंसिरपछि अहिलेको प्रतिनिधि सभा र प्रदेश सभाको अवधि सकिने, त्योभन्दा ज्यादा अघि पनि दशैंतिहार जस्ता चाडवाड पर्ने भएकाले मंसिर लागेपछि १०/१२ गतेभित्र निर्वाचन हुनेगरी आयोगले तयारी थालेको हो ।