काठमाण्डौ । नेपाललाई संयुक्त राष्ट्र सङ्घको महासभाले आउँदो सन् २०२६ सम्ममा अल्पविकसित देशबाट मध्यमस्तरको विकासशील देशमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ ।
त्यस प्रस्तावलाई अनुमोदनका लागि संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद्ले महासभामा पेस गरेको थियो । नेपालको स्तरोन्नतिसम्बन्धी प्रस्तावलाई पाँच वर्षको तयारी अवधिसहित राष्ट्र सङ्घले अनुमोदन गरेको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोग प्रमुखले जनाएका छन् ।
नेपालले आउँदो पाँच वर्षभित्र अर्थतन्त्रको संरचनागत परिवर्तनका लागि आफ्ना तर्फबाट सम्पूर्ण प्रक्रिया पूरा गर्न प्रतिबद्ध रहेको उनले बताए ।
नेपालले सन् २०१५ र २०१८ मा पनि स्तरोन्नतिको मापदण्ड पूरा गरेको थियो तर तत्कालीन अवस्थामा भूकम्पका कारणले अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गर्नुपरेको भन्दै यो प्रस्तावसम्बन्धी कार्यलाई नेपालले पछि सारेको थियो ।
राष्ट्र सङ्घले विभिन्न मापदण्डका आधारमा तयार पार्ने अल्पविकसित देशहरूको सूचीमा नेपाल सन् १९७१ मा सूचीकृत भएको थियो । पचास वर्षपछि नेपालले विश्वमानचित्रमा आफूलाई विकासशील देशको सूचीमा सूचीकृत गर्न सफल हुनु नेपालका लागि एक महत्त्वपूर्ण अवसर हो ।