चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पतालले कपाल रोप्न ऋण उपलब्ध गराउने भएको छ । अस्पतालले कपाल रोप्न (प्रत्यारोपण गर्न) आउने सेवाग्राहीलाई ऋणको व्यवस्था गरेको हो ।
अस्पतालले कपाल प्रत्यारोपणलगायत कस्मेटिक उपचार शुल्क किस्ताबन्दीमा तिर्न पाइने व्यवस्था गरेको छ । अस्पतालले सनराइज बैंकसँग सहकार्य गरेर किस्ताबन्दी सुविधा दिएको हो ।
अस्पतालभित्रै यसको काउन्टर रहेको छ । कपाल प्रत्यारोपणलगायत कस्मेटिक उपचारका लागि आउने सेवाग्राहीलाई किस्ताबन्दीमा शुल्क तिर्ने व्यवस्था मिलाइएको अस्पतालको डर्माटोलोजी विभागले जनाएको छ ।
बैंकले २५ हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म यस्तो ऋण धितोविना नै शून्य ब्याजदरमा उपलब्ध गराउने उहाँको भनाइ छ । अठार महिनासम्म किस्तामा तिर्न मिल्ने ऋणका लागि आयस्रोत भने खुलाउनुपर्ने जनाइएको छ ।
सेवा लिन आउने सेवाग्राहीलाई आवश्यक कागजपत्र बनाउन अस्पतालबाटै सहयोग गरिने जनाइएको छ। चितवनमा पहिलो पटक यो सुविधा दिइएको जनाइएको छ ।