विराटनगर । शुक्रबार सुरु भएको नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन आज शनिबार पनि जारी छ ।
प्रदेशको नेतृत्वका लागि केन्द्रीय सदस्य घनश्याम खतिवडा र विनोद ढकाल नेतृत्वको प्रतिस्पर्धा हुने भएको छ ।
अधिवेशनको बन्द सत्र सञ्चालन गर्न केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठको संयोजकत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ ।
अध्यक्ष मण्डलमा शेरधन राई, हिक्मतकुमार कार्की, अग्नि खरेल, शिवमाया तुम्बाहाम्फे, राजेन्द्र गौतम, भगवती चौधरी, जगदीश कुसियैत, राम राना मगर, पर्शुराम मेघी गुरुङ र सुनिता बराल सदस्य छन् ।
पाँच जना पदाधिकारीसहित २१५ सदस्यीय कमिटी चयन गर्ने अधिवेशनमा १३७ पालिका, २३ जन वर्गीय संगठन, दलित, मजदुर समेत गरी ९ सय ९७ जना प्रतिनिधि सहभागी रहेको आयोजक समितिले जनाएको छ ।