अलपत्र छाडेको तरहरा-सेउतीपुल सडक खण्डको काम सुरु

न्युजलय १७ असोज २०८०, बुधबार १०:४३ मा प्रकाशित

इटहरी । कोसी राजमार्गअन्तर्गत ६ लेन सडक आयोजनाअन्तर्गत निर्माण हुँदै आएको तरहरा-सेउतीपुल सडक खण्डको काम सुरु भएको छ । 


यातायात व्यवसायी, उद्योगी व्यवसायी पर्यटन व्यवसायीलगायत सम्पुर्ण सरोकारवाला निकायको चौतर्फी दबावपश्चात् ठेकेदार कम्पनीले मंगलबार (हिजो) देखि काम सुरु गरेको हो । 


केदार कम्पनी हिमढुङ्ग÷प्यासिफिक जे.भी.ले आर्थिक वर्ष २०७९/०८० असार मसान्तबाट सुनसरीको इटहरी-२० स्थित तरहरादेखि सेउती पुल सडक–खण्डको काम अलपत्र छाडेर बेपत्ता बनेको थियो । 


लामो समयमा पनि सडक निर्माण सम्पन्न नगर्दा यातायात व्यवसायी, यात्रु, पर्यटन व्यवसायीलगायतले सास्ती पाए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेश समितिले दबावस्वरूप जिल्ला प्रशासन कार्यालय सुनसरीलाई ज्ञापन–पत्र बुझाएको थियो ।


जिल्ला प्रशासनले ठेकेदार कम्पनीले तत्काल सडक निर्माण कार्य अघि नबढाए कानूनी प्रक्रिया अघि बढाउन आयोजनालाई निर्देशन दिएपछि आयोजनाले ठेकेदारलाई पत्राचार गरेको थियो । आयोजनाले २०८० असोज ११ एकदिने समयसीमा दिएर पत्राचार गरेको थियो । तत्काल काम सुरु नगरे सम्झौताअनुसार कानूनी प्रक्रिया अघि बढाउने गरी पत्राचार गरेपछि ठेकेदार कम्पनीले काम सुरु गरेको हो ।


रानी–विराटनगर–इटहरी–धरान सडक योजनाले सम्झौता अनुसार निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा २०८० असार २५ मा नै सकिएको छ । आर्थिक वर्ष २०८१र०८२ असारसम्म समय  थपिएको छ ।