चतराधाम । सुनसरीको चतराधाममा प्रत्येक बाह्र वर्षमा लाग्दै आएको पिण्डेश्वर पूर्ण महाकुम्भ मेला आउन मात्र पाँच महिना बाँकी छ । तर तयारी भने शुन्य हुँदा महाकुम्भ हुनेमा समेत शंका उत्पन्न भएको छ ।
मेला तयारीका लागि सात महिनाअघि नै छलफल सुरु भएपनि समितिसमेत गठन हुन सकेको छैन । चतराधामको सौन्दर्यीकरण, प्रचारप्रसार र अन्य व्यवस्थापकीय कामहरु कुनै अघि बढ्न सकेका छैनन् ।
भारतका विभिन्न सहरमा लाग्ने कुम्भमेला र त्यहाँको भौतिक निर्माण र सहज आवागमन देखेका स्थानीयले चतराधामको विकास भने सोहीअनुसार हुन नसकेकोमा चिन्ता व्यक्तगरेका छन् ।
यता बराहक्षेत्र नगरपालिकाले भने औलिया बाबा मठको सौन्दर्यीकरणका लागि १ करोड रुपैया छुट्याएको जनाएको छ ।
कुम्भ मेलाको तयारीका लागि तिहार पछाडि काम अघि बढाउने नगर प्रमुख रमेश कार्कीले बताएका छन् ।