काठमाडौं । विमानस्थलबाट गत २ साउनमा बरामद भएको तस्करीको १०० सय किलो सुन गालेको प्रत्यक्ष प्रसारण गरिने भएको छ ।
स्कुटरको ‘ब्रेक शु’मा लुकाएर ल्याइएको सुन ‘ब्रेक शु’ बाट छुट्याएर यकिन गर्दाको प्रक्रिया सर्वसाधरणलाई प्रत्यक्ष प्रसारण मार्फत् जानकारी दिन लागिएको राजस्व अनुसन्धान विभाग स्रोतले जनाएको छ ।
हालसम्मकै ठूलो सुन तस्करी घटना कसरी भयो र सुन लुकाउनका लागि के–केसम्म भयो भन्ने जानकारी दिने हिसाबले प्रत्यक्ष प्रसारण गर्न खोजिएको विभागको दाबी छ ।
टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्दाको प्रक्रिया र सुरक्षाबारे नेपाल राष्ट्र बैंकको टक्सार विभागसँग राजस्वले छलफल समेत गरिसकेको छ ।
ब्रेक शु’बाट सुन छुट्याउने प्रक्रियाको प्रत्यक्ष प्रसारणका लागि राजस्वबाट प्रस्ताव आएको टक्सार विभागले जनाएको छ ।
हङकङबाट नेपाल ल्याएको तस्करीको सुन प्रकरणमा बुधबार साँझसम्म राजस्व अनुसन्धान विभागले एक चिनियाँ र एक भारतीय नागरिक सहित १७ जनालाई नियन्त्रणमा लिइसकेको छ । पक्राउ पर्नेमा ३ जना भन्सार विभागका कर्मचारी समेत छन् ।