काठमाडौं । एसियाली मुलका ऋषि सुनक संयुक्त अधिराज्य बेलायतको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । उनी कन्जरभेटिभ पार्टीका नेता चुनिएका हुन् ।
२०१५ मा ३५ वर्षकै उमेरमा सांसद बनेका सुनक अब प्रधानमन्त्री बन्ने भएका छन् । उनी भारतीय उद्योगपति इन्फोसिस कम्पनीका संस्थापक एनआर नारायण मूर्तिका ज्वाइँ हुन् ।
ऋषि सुनक, बोरिस जोन्सनको मन्त्रिपरिषदमा वित्तमन्त्री थिए । उनले प्रधानमन्त्री बनेपछि देशको अर्थ व्यवस्था मजबुत बनाउने प्रतिवद्धता जनाएका छन् ।
ऋषिको बसोबास बेलायतमा तीन पुस्ता अघि भएको थियो । उनका हजुरबुवा–हजुरआमा भारतको विभाजनअघि पाकिस्तानी पञ्जाबको गुजरावाला शहरबाट पूर्वी अफ्रिका गएका थिए । लामो समय त्यहाँ बसेर इंगल्याण्डको साउथह्याप्टन पुगेका थिए ।
उनका पिता डाक्टर हुन् भने आमा फार्मासिस्ट हुन् । उनकी पत्नी अक्षता मूर्ति बेलायतकै सबभन्दा धनी महिलाहरुको सूचीमा पर्छिन् ।
अक्सफोर्ड विश्वविद्यालयमा दर्शन, राजनीति र अर्थशास्त्रको पढाइ गरेका उनी राजनीतिमा जानुअघि बैंकमा काम गरेका थिए ।