एमालेको सार्वजनिक कार्यक्रममा अध्यक्षबाहेक अन्यको फोटो प्रयोग नगरिने

न्युजलय ३२ साउन २०८०, बिहिबार ०५:४५ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेको सार्वजनिक कार्यक्रममा अध्यक्षबाहेक अन्यको फोटो प्रयोग नगरिने भएको छ। साउन २९ गते बसेको बैठकले सो निर्णय गरेको उपमहासचिव विष्णु रिमालले जानकारी दिए।

‘कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने’, सचिवालयको निर्णय भन्दै रिमालले फेसबुकमा लेखेका छन्।

त्यस्तै, मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथि र वक्ताहरुलाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने, कार्यक्रममा तथा कार्यक्रम सुरु भएपछि आसन ग्रहणको उद्घोषण गरिरहने परम्परा अन्त्य गर्ने र कार्यक्रममा ब्याच, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भडकिलो नबनाउने निर्णय पनि गरिएको छ।

सार्वजनिक कार्यक्रममा फोटोको प्रयोग, आसन ग्रहण र मञ्च व्यवस्थापन सम्बन्धी निर्णय एमालेले नियमित परिपत्रमार्फत् पार्टी पंक्तिमा प्रेषित गर्ने उनको भनाइ छ।

बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले यो विषय सामाजिक सञ्जालमा पनि लेखेका थिए।


‘