काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति अवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुँदै छ।
रिटमाथिको सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको छ।
कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको दाबीसहित कोसीका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट गत २२ असारमा सर्वोच्चमा रिट दर्ता गरिएको थियो। थापाले गत २२ असारमा मुख्यमन्त्रीको सपथ लिएका थिए।
मुख्यमन्त्री थापालाई नियुक्त गरिँदा संख्या देखाउनकै लागि प्रदेश सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरिएको थियो। निवर्तमान मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन्।