धनकुटा । धनकुटा बहुमुखी क्याम्पस धनकुटाको भारतको एक्जिम बैंक अफ इन्डियाको सहयोगमा भौतिक संरचना निर्माण गरिने भएको छ ।
भारतको एक्जिम बैंक अफ इन्डियाको आठ करोड रुपैयाँ लगानीमा धनकुटा क्याम्पसको प्रशासनिक भवन, कक्षा कोठा भवन, छात्रावास र पुस्तकालय भवन निर्माण गर्न लागिएको हो ।
एक्जिम बैंक अफ इन्डियाले इन्जिनियरिङको काम गरिरहेको र अब केही दिनदेखि काम सुरु गरिने बताइएको छ । भवन निर्माणका लागि ६ महिनामा विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार हुनेछ ।
झन्डै तीन महिना अगाडिदेखि पुस्तकालय, प्रशासनिक भवनको परिकल्पना गरिएको चित्र सार्वजनिक गरी सुझाव लिइ सकिएको र अबको ३० महिनाभित्र भवन निर्माण गरी क्याम्पसलाई हस्तान्तरण गर्ने योजना बताइएको छ ।
एक्जिम बैंक अफ इन्डियाले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न शैक्षिक संस्थालाई भूकम्पपछिको पुनर्निर्माणका लागि सहयोग गर्दै आएको छ ।