काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले सरकारी ढुकुटी प्रयोग गरेर पूर्व–पश्चिम रेलमार्ग निर्माण असम्भव रहेको बताएका छन्।
मन्त्री राईले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण गर्न १० वर्ष समयावधी र २४ खर्ब रुपैयाँ खर्च लाग्ने देखिएको बताए। यत्रो खर्च गरेर निर्माण गरिने रेलमार्गबाट हुने मुनाफा भने नदेखिएको उनको भनाइ छ।
औचित्य र आवश्यकता हो भनेर जग्गा प्राप्ति गरी निर्माण गर्ने हो भने पनि न्यूनतम २४ खर्ब रुपैयाँ नभइ पूर्व–पश्चिम रेलमार्ग निर्माण हुन नसक्ने उनले बताए।
‘देशको बजेट नै ४ खर्ब र कार्यान्वयन तीन खर्ब रुपैयाँ मात्र भइरहेको छ। यस्तो अवस्थामा त्यो रेलमार्ग निर्माण सम्भव छैन्’ उनले भने। अहिले नेपालको आर्थिक अवस्था र स्रोतको उपलब्धताको हिसाबले निर्माण गर्न नसकिने उनले स्पष्ट पारे।