फाइनान्सले झुटो मुद्धा चलाएको पीरमा परिवारले पिए विष

न्युजलय २४ फाल्गुण २०७८, मङ्गलबार १०:५१ मा प्रकाशित

काठमाडौँ । काठमाडौंको एकै परिवारका ५ जनाले विष पिएको घटनाको कारण खुलेको छ । गोरखा फाइनान्सले झुटो आरोप लगाउँदै मुद्दा दर्ता गरेपछि आत्महत्याको निर्णय लिएको प्रधान परिवारले लेखेको सुसाइड नोटमा उल्लेख छ। 

३५ वर्षीया मन्दिरा प्रधानले आफूलाई आर्थिक हिनामिना आरोप लगाउँदै फाइनान्सले केही महिना अगाडि जागिरबाट निकालेपछि उनले सुसाइड गरेको बताइएको छ ।

करिब ७ लाख रुपैयाँ हिनामिना आरोप लगाउँदै फाइनान्सले मन्दिराविरुद्ध उजुरीसमेत हालेको थियो । प्रहरीले त्यही जाहेरीका आधारमा मन्दिरालाई गत शुक्रबार पक्राउ गरेको थियो। तर उनलाई त्यही साँझ मन्दिराका जेठाजु कुमारमान प्रधानको रोहबरमा छाडिएको थियो ।

मन्दिराले भने आफन्तसँग तीन चार लाख रुपैयाँ मात्रै हराएको बताएकी छिन् । विष पिउनुअघि लेखेको सुसाइड नोटमा भीम प्रधान र मन्दिराले हस्ताक्षर गरेका छन् । 

भीमकी आमा ६२ वर्षीया इन्दिराले औँठाछाप हानेको भेटिएको छ । सुसाइड नोटमा फाइनान्सका ५–६ जना कर्मचारीको परिचय र मोवाइल नम्बर पनि उल्लेख छ। आइतबार पनि फाइनान्सले बारम्बार ताकेता गरेको थियो। त्यतिबेलै इन्दिराले आफूले रकम तिर्न नसक्ने भन्दै बरु आत्महत्या गर्ने बताएकी थिइन्। 

विष पिएकामध्ये भीम प्रधानका भतिजा ३३ वर्षीय सुवर्णमानको मृत्यु भइसकेको छ। ४० वर्षीय भीममान प्रधान, उनकी आमा ६२ वर्षीया इन्द्रमाया र छोरी ११ वर्षीया सुब्रिनाको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्य अवस्था जटिल रहेको आफन्तले बताएका छन्।