इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । राप्रपाबाहेक सबै दलले उनलाई विश्वासको मत दिएका छन्।
प्रदेशसभाको बुधबारको बैठकमा उपसभामुख सिर्जना दनुवारले कार्कीका पक्षमा विश्वासको मत प्राप्त भएको घोषणा गरेकी हुन् । पक्षमा ८६ मत र विपक्षमा ५ मत परेको थियो । बैठकमा ९१ सदस्य उपस्थित थिए । दुई जना सदस्य अनुपस्थित रहे ।
कार्कीलाई सत्ता गठबन्धन नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले विश्वासको मत दिएका थिए।
गठबन्धनको निर्णयलाई लत्याउँदै काँग्रेस नेता कार्की एमालेका ३९ सांसद र कांग्रेसका डा. शेखर कोइराला समूहका ८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
निर्वाचनअघि बोल्दै पुर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यसअघि एमालेले मिलेर सरकार बनाउन चाहे पनि कांग्रेस र माओवादीले बेवास्ता गरेको गुनासो गरेका थिए ।
कार्कीले अहिले निर्वाचन जनताको अपेक्षा नरहेको र मुलुकको अर्थतन्त्रले धान्न नसक्ने बताए ।
पूर्वमुख्यमन्त्री उद्धव थापाले संसदमा ‘म्युजिकल चेयर’ खेलको अन्त्य भएको बताए । उनले प्रदेशलाई प्रगतिको बाटोमा अगाडि बढाउन सहमति गरेर जानुपर्ने बताए ।
पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले मध्यावधि निर्वाचन जानबाट जोगाउनका निम्ति मुख्यमन्त्रीलाई विश्वासको मत दिएको बताए ।
माओवादी सांसद दुर्गाप्रसाद चापागाईँले माओवादीले गठबन्धन बचाउनकै लागि सभामुख त्यागेको स्मरण गराउँदै आफूहरुले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षीमा बस्ने निर्णय गरेको जानकारी गरँए ।
मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा स्थिर र गतिशील सरकार आएको बताउँदै प्रदेशको विकासका लागि सबै दलहरूलाई एकजुट हुन आह्वान गरे ।