काठमाडौँ । विद्यालय शिक्षा सम्बन्धी विधेयकको विरोधमा राहत, बालविकास लगायतका शिक्षकहरूले विरोध प्रदर्शन जारी राखेका छन् ।
सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउदै उनीहरुले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेका हुन् ।
महासङ्घसँगको सहमतिमा आफूहरूको माग प्रति सरकारले कुनै सुनवाई नगरेको भन्दै राहत शिक्षक, पेन्सन बञ्चित शिक्षक, उमावि अनुदान शिक्षक, अस्थायी करार बाल विकास शिक्षक कर्मचारी तथा कार्यालय सहयोगीहरूले कालो पट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।
राहत शिक्षकले सत प्रतिशत आन्तरिक प्रतिस्पर्धामा भाग लिन पाउनुपर्ने र बालविकास शिक्षकहरूले बालविकास केन्द्र विद्यालय संरचनाभित्र ल्याउनुपर्ने, बालविकास शिक्षक दरबन्दीको व्यवस्था हुनुपर्ने, बालविकास शिक्षकलाई आधारभूत तह शिक्षक सरह तलब हुनुपर्ने लगायतका माग राखेका छन् ।
उनीहरूले काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म विरोध र्याली निकालेका हुन् । शिक्षकहरूको विरोधका कारण बिहीबार पनि सो क्षेत्रको यातायात अस्तव्यस्त भएको छ ।